
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच असमझदारीको खोजी गर्नेहरू निराश हुने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय मौद्रिक र वित्तीय नीतिबीच समन्वय छैन भन्ने चर्चा भइरहे पनि त्यस्तो अवस्था नरहेको प्रस्ट पारे । ‘अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच दरार हुने कल्पना राज्य प्रणालीले गरेको छैन,’ पौडेलले भने, ‘हामीबीच जीवन्त, घनिष्ठ र सन्तुलित सम्बन्ध रहेको छ ।’
उनले दुवै निकायबीच सन्तुलन र समन्वय कायम गर्दै समग्र अर्थतन्त्रलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। ‘यदि मौद्रिक र वित्त नीति सही तालमेलमा भएनन् भने अर्थतन्त्रमा नकारात्मक असर पर्छ,’ उनले भने, ‘त्यसैले एउटाले रोक्ने र अर्काले खोल्ने होइन, सँगै अघि बढ्नुपर्छ ।’
कार्यक्रममा उनले पछिल्लो समय मौद्रिक सुशासनप्रति उठेका प्रश्नलाई सम्बोधन गर्दै कतै न कतै कमजोरी भएको स्वीकार गरे। ‘सुशासनमा चुक भएको ठाउँ पहिचान गरेर सुधार गर्नुपर्छ,’ पौडेलले थपे।
अर्थतन्त्रलाई चलायमान बनाउन समस्या–केन्द्रित र समाधान–मुखी प्रयासमा सँगै काम गर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले औँल्याए ।