छ महिनादेखि बन्द रसुवागढी नाका आजबाट सञ्चालनमा

काठमाडौँ । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरु भएको छ । नेपाल–चीनबीच ल्हेन्दे खोलामा बाढी आएर पुल भत्काए पछि आवतजावत पूर्ण रुपमा बन्द रहेको थियो । तर उक्त स्थानमा बेलिब्रिजको निर्माण सम्पन्न भएपछि आजबाट आवतजावत सुरु भएको हो । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरुङतर्फ जान सुरु गरेका हुन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै १७ पुस अर्थात जनवरी फस्टदेखि विधिवत रुपमा उक्त नाका सञ्चालनमा आउने बताएका छन् ।

गत २४ असार अगाडि सामग्री ल्याउन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको उनले जानकारी दिएका छन् ।

ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब नोक्सान भइसकेको छ ।

रसुवागढी नाका ६ महिनापछि आंशिक खुल्यो: २१ अर्ब राजस्व गुम्यो, ढुवानी लागत तेब्बर

रसुवा । बाढीका कारण विगत ६ महिनादेखि पूर्ण रूपमा ठप्प रहेको नेपाल-चीन व्यापारको प्रमुख नाका रसुवागढी आंशिक रूपमा सञ्चालनमा आएको छ। गत असार २४ गते लेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि यो नाका बन्द भएको थियो । चीन सरकारले सो स्थानमा बेलिब्रिज जडान गरेसँगै आइतबारदेखि आवतजावत सुचारु भएको हो।

जनवरी १ देखि मालसामान ढुवानीको तयारी

नाका आंशिक रूपमा खुले पनि मालसामान बोक्ने सवारी साधनहरूको आवागमन भने आगामी जनवरी १ (पुस १७ गते) देखि मात्रै सुरु हुनेछ। रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार हाललाई व्यवसायीहरूलाई मात्र आवतजावतको अनुमति दिइएको छ।

“आजदेखि व्यवसायसँग सम्बन्धित व्यक्तिहरूलाई आउन-जान दिइएको छ,” भट्टराईले भने, “मालसामान ढुवानीका लागि भने जनवरी १ सम्म कुर्नुपर्ने चिनियाँ पक्षको भनाइ छ। त्यसपछि आयात थप सहज हुनेछ।”

६ महिनामा २१ अर्ब राजस्व घाटा

प्रमुख उत्तरी नाका लामो समय बन्द हुँदा राज्यकोषमा ठूलो धक्का लागेको छ। भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा रसुवागढी नाकाले झन्डै २१ अर्ब रुपैयाँ बराबरको राजस्व गुमाएको छ। वार्षिक राजस्वको लक्ष्य प्राप्तिमा यसले ठूलो अवरोध सिर्जना गरेको छ।

असारको बाढीले भन्सार जाँचपास भएर बसेका कन्टेनरहरू समेत बगाउँदा व्यवसायीहरूले ठूलो भौतिक र आर्थिक नोक्सानी बेहोर्नुपरेको थियो।

उपभोक्तालाई महँगीको भार: ढुवानी खर्च ३ लाख पुग्यो

नाका बन्द हुँदा नेपाली बजारमा सामानको मूल्यमा प्रत्यक्ष असर परेको छ। रसुवागढीबाट सिधै काठमाडौँ आउनुपर्ने सामानहरू कोरला र तातोपानी नाका भएर घुमाएर ल्याउनु पर्दा ढुवानी लागत तेब्बरले बढेको छ।

यसअघि रसुवागढीबाट काठमाडौँ सामान ल्याउँदा १ लाख रुपैयाँभन्दा कम पर्ने गाडी भाडा हाल ३ लाख रुपैयाँ सम्म पुगेको छ। “लामो र वैकल्पिक बाटो प्रयोग गर्दा ढुवानी लागत बढेर त्यसको सिधै भार उपभोक्ताको भान्छामा परेको छ,” भन्सार प्रमुख भट्टराईले बताए। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि चिनियाँ सामानको मूल्य केही घट्ने अपेक्षा गरिएको छ ।

सडक र पूर्वाधारको अवस्था नाजुक

नाका खुले पनि बाढीले पुर्‍याएको क्षतिको स्थायी पुनर्निर्माण अझै सुरु हुन सकेको छैन। भन्सार क्षेत्रको पूर्वाधार निर्माण गर्ने जिम्मा पाएका चिनियाँ ठेकेदारहरू काम छाडेर हिँडेकाले हाल ढुङ्गा र लेदो पन्छाएर कामचलाउ बाटो मात्र बनाइएको छ।

गल्छी-रसुवागढी सडकको प्रगति:

  • गल्छी–मैलुङ खण्ड: ४६ किमीमध्ये ३६ किमी कालोपत्रे भए पनि १० किमी खण्डमा मुआब्जा विवादले एक वर्षदेखि काम ठप्प छ।

  • त्रिशूली–स्याफ्रुबेँसी खण्ड: १८ किमी सडकको अझै ठेक्का लाग्न बाँकी छ।

  • स्याफ्रुबेँसी–रसुवागढी खण्ड: चीन सरकारले बनाउने १६ किमी सडक खण्डमा निकुञ्ज र उत्खनन सम्बन्धी विवाद सुल्झिएकाले जनवरी १ पछि कामले गति लिने विश्वास गरिएको छ।

हाल ६ ठाउँमा गएको पहिरोका कारण सडकको अवस्था अझै पनि जोखिमपूर्ण रहेको र सवारी चलाउन सहज नरहेको इन्जिनियर अमरेन्द्रकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै