काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले अनुभवी बैंकर उमेशसिंह भण्डारीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले गत साता गरेको निर्णयअनुसार भण्डारीले सोमबारबाट आफ्नो कार्यभार सम्हालेको बैंक स्रोतले जनाएको छ ।
भण्डारीलाई वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठको उत्तराधिकारीका रूपमा भित्र्याइएको हो । बैंक स्रोतका अनुसार, श्रेष्ठको दोस्रो कार्यकाल आगामी २०८३ भदौ १८ मा सकिँदैछ र सञ्चालक समितिले उनको पदावधि नथपी भण्डारीलाई सीईओको जिम्मेवारी दिने योजना बनाएको छ ।
भण्डारीको २५ वर्षे बैंकिङ अनुभव:
करिब २५ वर्षको लामो बैंकिङ अनुभव बोकेका भण्डारीले सांग्रिला प्रवेश गर्नुअघि बेस्ट फाइनान्सको सीईओका रूपमा काम गरेका थिए । उनले २०७७ पुसदेखि गत पुससम्म बेस्ट फाइनान्सको नेतृत्व गरेका थिए र त्यसपछि करिब एक वर्ष बैंकिङ क्षेत्र बाहिर रहेका थिए ।
उनको बैंकिङ यात्राको सारांश:
-उनले तत्कालीन अरब बैंक (नबिल) बाट बैंकिङ करियर सुरु गरेर करिब ६ वर्ष काम गरे।
-त्यसपछि एभरेस्ट बैंक हुँदै इन्डोश्वेज बैंक (जुन पछि नेपाल इन्भेष्टमेन्ट बैंक बन्यो) मा ६ वर्ष काम गरे।
-तत्कालीन नारायणी नेशनल फाइनान्स मा साढे दुई वर्ष सीईओ भएर काम गरे, जुन संस्था पछि सनराइज बैंक मा गाभियो।
-उनले स्ट्याण्डर्ड फाइनान्स को सीईओको जिम्मेवारी सम्हालेर १४ महिनामै उक्त संस्थालाई माछापुच्छ्रे बैंक मा मर्जर गराए। माछापुच्छ्रे बैंकमा करिब ३ वर्ष काम गरे।
-त्यसपछि काष्ठमण्डप डेभलपमेन्ट बैंक को डेपुटी सीईओ बने, जुन पछि कुमारी बैंक मा गाभियो।
-कुमारी बैंकमा डीसीईओको भूमिकामा छोटो समय रहेपछि ६ महिनाको ‘ग्याप’ पछि उनी बेस्ट फाइनान्स को नेतृत्वमा पुगेका थिए।