
भक्तपुर (थिमि) । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएकी छिन् ।
बुधबार राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।
‘‘नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्न जिम्मेवारी पाएको यहाँहरुलाई विदितै छ । यस सरकारसँग नेपालको संविधानअनुसार जेनजी समूहको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व रहेको छ ।,’’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘‘साथै निष्पक्ष निर्वाचन गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेछ भन्ने कुरामा विश्वस्त रहेको छु ।’’
यसैगरी, उनले नेपाल अझै पनि निरपेक्ष गरिबी र असमानतासँग लडिरहेको औंल्याइन् । समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक स्तर वृद्धि गर्न साख्वाःले देखाउनुभएको मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्नु आवश्यक रहेको उनको भनाइ छ ।
नेपाली राष्ट्रियता, मौलिकता एवम् सामाजिक इतिहासलाई उच्च राख्ने शंखधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ– व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात् गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ ।