असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन

काठमाडौँ । अघिल्लो महिना असोजमा देशभरका मालपोत कार्यालयले कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका छन् । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण कतिपय मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो ।

जेन–जी आन्दोलन र लगत्तै चाडपर्व परेका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन पनि सामान्य नै रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गएको असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ सङ्कलन भएको छ ।

यस्तै, पुँजीगत लाभकर एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ । विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाण्डौले २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाण्डौले चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको छ । असोज महिनामा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । विभागका अनुसार असोज महिनामा ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै