
काठमाडौँ । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले दिएको जानकारीअनुसार, बा ५ च ८३२० नम्बरको कारले बाप्र०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६, थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको मृत्यु भएको हो ।
उनले भने, “कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते भएका थिए। उनको शङ्खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।” ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तनहुँमा एक पुरुष मृत फेला
तनहुँ । व्यास नगरपालिका-४, शितलचोकस्थित भित्री सडकखण्डमा आज (सोमबार) साँझ एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा व्यास नगरपालिका–१०, कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक (प्रनाउ) श्रवणकुमार विकले जानकारी दिए ।
घटनाबारे प्रारम्भिक सोधखोजका क्रममा निजले मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रनाउ विकले बताए ।