
काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सुम्निमा हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि संस्थागत परामर्श तथा निष्काशन एवं बिक्री प्रबन्धक सेवा प्रदान गर्न कार्तिक २ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो ।
सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्कासनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष आषिश सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
आयोजनाको अवस्थाः
सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानी सदुपयोग गरी ४.९ मेगावाट (मे.वा.) क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । सार्वजनिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ ।