
‘उडाइएको पैसा चरित्र हत्याको योजना— ‘मेरो व्यवसायिक पृष्ठभूमि हेर, दुई–चार लाख नहुन सक्छ र ?’
काठमाडौँ । जेन-जी आन्दोलनलगत्तै देश छोडेका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का स्वदेश फर्किएका छन् । तराई हुँदै भारतको राजधानी नयाँदिल्ली पुगेको र परिवार अहिले पनि उतै रहेको उनले जानकारी गराएका छन् ।
‘त्यो उत्पातपछि मैले त सहन सक्थेँ । श्रीमतीलाई ट्रमाजस्तो भयो । त्यसैले केही दिन बाहिर निस्कनुपर्यो भनेर तराई गयौं । त्यहाँ डेंगी भयो । मलाई पनि भयो,’ सोमबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड छ । श्रीमती र बच्चा उतै छन् । म अहिले आएको छु । राजनीतिज्ञ हुँ, भाग्ने मान्छे होइन ।’
पूर्व ऊर्जामन्त्री दीपक खड्काले भदौ २४ गते प्रदर्शनकारीहरूले आफ्नै घरमा तोडफोड र आगजनी गर्दा आफू सोही घरभित्रै रहेको बताए । सोमबार बिहान बूढानीलकण्ठस्थित आफ्नो घरको प्रांगणमा पत्रकारहरूसँग कुरा गर्दै उनले तोडफोड सुरु भएपछि सुरक्षाकर्मीहरूले आफू र परिवारलाई सुरक्षित स्थानमा सारेको जानकारी दिए ।
तोडफोडकै बेला खड्काको घरबाट लाखौँ रुपैयाँ भेटिएको र पैसा उडाइएको भिडियो सार्वजनिक भएको थियो । सो भिडियोबारे पत्रकारहरूले प्रश्न गर्दा उनले आफू त्यतिबेला पनि घरमै रहेको बताए । ‘उडाइएको भिडियो यही घरमै बसेर हेरिरहेको थिएँ । मेरो घरमा कति पैसा र कति विदेशी मुद्रा थियो भनेर मैले प्रहरीसँग विवरण दिएको छु,’ उनले भने ।
उनका अनुसार ती नोटहरू दसैंका खर्चका लागि राखिएका नयाँ २० र ५० रूपैयाँका बन्डलहरू थिए, जुन प्रदर्शनकारीहरूले नियोजित रूपमा उडाएर फोटो खिचेका थिए । ‘दसैंका लागि ल्याएका नयाँ नोटका बन्डलहरू थिए । ती उडाएर फोटो खिच्ने काम चरित्र हत्या गर्ने योजनाअन्तर्गत गरिएको थियो,’ खड्काले दाबी गरे । उनले आफ्नो व्यवसायिक पृष्ठभूमिका कारण घरमा केही रकम हुनु अस्वाभाविक नभएको पनि स्पष्ट पारे ।
‘दीपक खड्कासँग दुई–चार लाख नहुन सक्छ भन्ने तिमीहरूलाई लाग्छ ?’ उनले पत्रकारहरूलाई प्रतिप्रश्न गर्दै भने । ‘मेरो पृष्ठभूमि र संगत हेर । मन्त्री वा राजनीतिज्ञ बन्नुभन्दा पहिल्यै मेरो व्यवसायिक संरचना तयार भइसकेको थियो ।’
खड्काले भने सरकार र ‘कथित मिडिया’ ले समाजलाई दिग्भ्रमित पारेकाले आफू फर्किएको बताएका छन् । खड्काले भनेका छन्, ‘त्यो उत्पातपछि मैले त सहन सक्थेँ । श्रीमतीलाई ट्रमाजस्तो भयो । मेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड छ । श्रीमती र बच्चा उतै छन् । म अहिले आएको छु ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का भागेको जानकारी गराएका थिए । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा अर्यालले भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं ।’
गृह मन्त्रालयका अधिकारीहरूले पनि खड्काले स्थलमार्गबाट देश छाडेको पुष्टि गरेको समाचार कान्तिपुरमा समेत प्रकाशन भएको थियो ।