तिहारको सार्वजनिक बिदा आजदेखि सुरु

काठमाडौँ । आज सोमबारदेखि तिहारको सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतबार मात्रै खुल्नेछन् ।

कात्तिक ६ गते बिहीवार भाइटीका मनाइनेछ । अर्को दिन शुक्रबार तिहारको बिदा र शनिबार पनि बिदा नै हुने भएकाले आउँदो आइतबारदेखि मात्रै सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएका हुन् । यसबीचमा बैंक तथा वित्तीय संस्थाहरुले भने निश्चित शाखा तोकेर विदाका दिनमा पनि सेवा दिने भएका छन् ।

बैंकिङ्ग सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले बैंकहरुले विदाका दिनमा पनि सेवा दिने गर्दछन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम बैंकहरुले सामाजिक सञ्जाल फेसबुक पेज तथा अन्य माध्यमबाट सार्वजनिक सूचना प्रकाशन गरी कुन कुन दिन कुन शाखा खुल्छन् भन्ने जानकारी दिएका छन् ।

तिहार तथा छठ पर्व मनाउन कतिपयले काठमाडौँ छोड्नेक्रम शुरु भएको छ । यसवर्ष तिहारका लागि झन्डै छ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवसायीको अनुमान छ । काठमाडौँमा तिहारका बेला दशैँमा जस्तो सुनसान भने हुँदैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण काठमाडौँ उपत्यका छोड्नेको सङ्ख्या बिगतमा भन्दा केही बढ्ने अनुमान गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा गाडीको व्यवस्थापन हुने जानकारी दिए । यस पटकको दशैँमा मुख्य राजमार्गमा पहिरोले सास्ती खेप्नुपरेको भए पनि तिहारको समयमा सडकको अवस्था सुधार भएको उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै