
सुनको मूल्य र आपूर्तिका कारण यसपालि नयाँ असर्फी नछापेको केन्द्रीय बैंकको भनाइ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै आइतबारसम्ममा ४१० किलो चाँदी बिक्री गरेको छ । केन्द्रीय बैंकले तिहारका लागि चाँदीका सिक्काहरू (टकमारी) मार्फत उक्त परिमाणको चाँदी बिक्री गरेको हो ।
यसपालि केन्द्रीय बैंकले सर्वसाधारणलाई सुनका असर्फी भने बिक्री गरेन । सुनको मूल्य र आपूर्तिको कारणले गर्दा केन्द्रीय बैंकले सुनका असर्फी नयाँ नछापेकाले बिक्री नगरेको जनाएको छ ।
राष्ट्र बैंकको टक्सार महाशाखाले तिहार लक्षित १०।१० ग्रामका लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीका सिक्काहरू बिक्री गरेको छ । यी सिक्का बिक्री गर्दा कुल चाँदीको परिमाण ४१० किलो बराबर भएको केन्द्रीय बैंकले जनाएको छ ।
गत वर्षको तुलनाः
गत वर्ष धनतेरसमा केन्द्रीय बैंकले सर्वसाधारणलाई करिब ११ किलो सुन बिक्री गरेको थियो । टक्सार महाशाखाका अनुसार, गत यमपञ्चक सुरु हुनुभन्दा अघिल्लो दिन (धनतेरसमा) ११.३ किलो सुन र १७१.५ किलो चाँदी बेचेको थियो । त्यस समयमा २.५ ग्रामका सुनका असर्फी ४ हजार ५२० थान बिक्री भएका थिए ।
यो वर्ष सुनका सिक्का नदिँदा चाँदीका सिक्का बिक्री बढेको केन्द्रीय बैंकले जनाएको छ ।