
कञ्चनपुर । कञ्चनपुर जिल्लामा यस वर्षको धान बालीका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले यो मूल्य तोकेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार धानको मूल्य निम्नबमोजिम निर्धारण गरिएको छ:
मोटो धानको मूल्य: प्रतिक्विन्टल ३४६३ रुपैयाँ ८१ पैसा
मध्यम धानको मूल्य: प्रतिक्विन्टल ३६२८ रुपैयाँ ३३ पैसा
प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको सूचनामा कृषक, धानचामलका उद्योगी तथा व्यापारीहरूलाई तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद–बिक्री गर्न आग्रह गरिएको छ। साथै, यो निर्णय कार्यान्वयन गराउनका लागि स्थानीय तहहरूलाई समेत निर्देशन दिइएको छ ।
किसानद्वारा स्वागत, डिपो माग:
हाल जिल्लाभर धानबाली काट्ने, सुकाउने र थ्रेसिङ गर्ने चटारो चलिरहेका बेला समर्थन मूल्य समयमै निर्धारण भएको भन्दै किसानहरूले स्वागत गरेका छन्।
स्थानीय किसान गहनु चौधरीले धानको समर्थन मूल्य निर्धारण गर्ने निर्णय स्वागतयोग्य रहेको बताए। उनले पालिकास्तरमा सरकारी धान खरिद डिपो सञ्चालन गरेर तोकिएको मूल्यमा नै धान खरिद गरिदिएमा किसानहरूलाई थप राहत मिल्ने माग गरे।