
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन समितिमा बयानका लागि नजाने बताएका छन् ।
आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा सम्पादकहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले आफू गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयानका लागि नजाने बताएका हुन् । उनले भने, ‘कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन । यो हुन सक्दैन ।’
उनले आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने समेत बताए । ओलीले पछिल्ला दिनमा भ्रष्टाचारविरुद्ध बोल्नेहरूकै चर्को स्वर भएको भन्दै आचरणमाथि प्रश्न उठाएका छन् ।
सम्पादकहरूसँगको अन्तरक्रियामा उनले ‘भित्रभित्र खाने’ प्रवृत्तिलाई कटाक्ष गर्दै वास्तविक सुधारका लागि इमानदार राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए । ओलीले भने, ‘भ्रष्टाचारको विरोध सजिलो छ, तर अहिले सबैभन्दा बढी भ्रष्टाचार गर्नेको स्वर नै सबैभन्दा चर्को छ।’
चेतावनीका स्वरमा उनले थपे, ‘एकछिन छानबिन गर्ने दिन आउँछ । अहिले चर्को स्वरले दबाउन खोजिएको हुनसक्छ, तर त्यो दिन आउँछ। आगो लुकाउन सकिन्छ, धुँवा लुकाउन सकिँदैन–त्यो त आइहाल्छ ।’
२४ गतेको घटनाबारे बोल्दै उनले जेनजीहरूले नै आगो लगाए त ? भन्ने प्रश्न गरे । उनले भने,’मैले असली जेनजीलाई सोध्दा उनीहरूले भने– हामीलाई थाहा छैन, हाम्रा मागहरू हाइज्याक भए, हजुरआमालाई प्रधानमन्त्री बनाउने हाम्रो माग होइन ।’
ओलीले आन्दोलनका नाममा वास्तविक युवाहरूको भावना दुरुपयोग गर्न खोज्नेहरूलाई सचेत गराउन आवश्यक रहेको बताए । उनले भने, ’देशको सुधार र सुशासनका लागि आन्दोलनको भावना सच्चा हुनुपर्छ, दुरुपयोग होइन ।’