
काठमाडौँ । नेपालको दोस्रो ठूलो चाड तिहार (कात्तिक ३ देखि ६ गतेसम्म) मा मौसम सामान्यतया अनुकूल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, पश्चिमी वायुको आंशिक प्रभावले पहाडी र हिमाली क्षेत्रमा भने फाटफुट वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार, तराई तथा देशका अधिकांश भूभागमा भने मौसम प्रायः सफा रहने भएकाले तिहारको रमझममा खासै बाधा नपुग्ने अपेक्षा गरिएको छ ।
तिहार अवधिभरको मौसम विवरण (कात्तिक ३ देखि ६ गतेसम्म):
मिति | पर्व | क्षेत्रगत मौसमको सम्भावना |
कात्तिक ३ | लक्ष्मीपूजा | पहाडी भूभागमा आंशिक बदली । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा को सम्भावना । बाँकी क्षेत्र सफा । |
कात्तिक ४ | गाइतिहार/औँशी | पहाडी भूभागमा आंशिक बदली । कोशी, गण्डकी र कर्णालीका एक–दुई स्थानमा फाटफुट वर्षा । अन्यत्र मुख्यतया सफा । |
कात्तिक ५ | गोवर्द्धन पुजा | पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली । कोशी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात को सम्भावना । बाँकी भूभाग सफा । |
कात्तिक ६ | भाइटीका | कोशी, मधेस र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली । सबै प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना । तराईमा प्रायः सफा । |
महाशाखाले कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असरले उच्च पहाडी र हिमाली क्षेत्रमा केही बदली आउने बताएको छ ।