
काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले पार्टीको पदबाट राजीनामा दिएका छन् । गत असोज २९ देखि कार्तिक १ गतेसम्म बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले महासचिव पदबाट राजीनामा दिएको पत्र पेश गरेका हुन् ।
लामो समयदेखि पार्टीको नेतृत्व गर्दै आएका वैद्यले स्वास्थ्यको कारण राजीनामा दिएको बताइएको छ । उनको राजीनामापछि कार्यवाहक महासचिवको जिम्मेवारी सीपी गजुरेल लाई दिइएको छ ।
केन्द्रीय सदस्य इन्द्र राउतका अनुसार, महासचिव वैद्य स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । राउतले भने, “बैठकमा महासचिवको राजीनामा पत्र सुनाइयो, बैठकले राजीनामा स्वीकार गरी सीपी गजुरेललाई जिम्मेवारी दियो।”
राजनीतिक घटनाक्रमको सन्दर्भ:
यसैबीच, केही समयअघि चलेको ‘जेनजी आन्दोलन’ पछि नेपाली राजनीतिमा केही शीर्ष नेताहरूले जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि सक्रिय राजनीतिबाट राजीनामा दिएका छन् ।
तर, तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने पद छाड्ने कुनै सङ्केत देखाएका छैनन् ।