तीन महिनामा साढे २ खर्ब बढी राजस्व संकलन

काठमाडौँ । चालु आर्थिक बर्ष २०८२/८३ को तीन महिनामा २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अर्थमन्त्रालयका अनुसार यो रकम लक्ष्यको ७८.१२ प्रतिशत हो । सरकारले तीन महिनामा ३ खर्ब २१ अर्ब ५३ करोडको राजश्व सङ्कलनको लक्ष्य लिएको थियो ।

असोज एक महिनामा मात्रै १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ९२ अर्ब ४७ करोड सङ्कलन भएको छ । असोज ३१ गते एकै दिन ८ अर्ब ६ करोड राजश्व सङ्कलन भएको छ । असोज महिनामा लक्ष्यको ८९.७१ प्रतिशत राजश्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ । सरकारको आम्दानी र खर्चको हिसाबकिताब राख्ने  महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८.५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो ।

कार्यालयका अनुसार असोज मसान्तसम्ममा चालुगत शीर्षकमा वार्षिक विनियोजनको २१.७५ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको छ । यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको ४.७ प्रतिशत अर्थात् १ खर्ब १९ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्था शीर्षकमा २३.६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड खर्च भएको छ ।

यस अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६.५१ प्रतिशत छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म २ खर्ब ५३ अर्ब १८ करोड ७९ असुली भएको हो । आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६.८३ प्रतिशत अर्थात् २ खर्ब ४९ अर्ब ५ करोड १४ लाख असुली भएको छ ।

यसैगरी, ५३ अर्ब ४४ करोड ६९ लाख रूपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् २ अर्ब ७२ लाख रूपैयाँ प्राप्ति भएको छ ।

यसले सरकारको आम्दानी र खर्च बीच ठुलो खाडल रहेको देखाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै