
अन्तिम खेलमा समोअलाई १२४ रनले पराजित; नेपाल, ओमान र यूएई टी–२० विश्वकप २०२६ का लागि छनोट
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड ईएपी छनोटको सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध १२४ रनको फराकिलो जित निकाल्दै नेपाल शतप्रतिशत जितसहित च्याम्पियन बनेको छ ।
नेपालले यसअघि नै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको थियो। यो छनोटबाट नेपालसँगै ओमान र यूएई पनि विश्वकपमा छनोट भएका छन्। नेपालले सुपर–६ मा १० अंक जोड्दा दोस्रो स्थानको ओमानले ८ र तेस्रो स्थानको यूएईले ६ अंक जोडे ।
ओमान क्रिकेट एकेडेमीमा टस जितेर फिल्डिङ रोजेको समोअविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको विशाल योगफल खडा गर्यो।
नेपाली ब्याटिङ:
ओपनिङ ब्याटर आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
अर्का ओपनर कुशल भुर्तेलले १५ बलमा १७ रन जोडे।
दीपेन्द्रसिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रनको अर्धशतकीय इनिङ खेले।
आक्रामक ब्याटिङ गरेका लोकेश बमले १२ बलमा नटआउट ३९ रन (२ चौका र ४ छक्कासहित) बनाए।
कप्तान रोहित पौडेलले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित २१ रन जोडे। आरिफ शेख ९ रनमा आउट भए।
समोअको जवाफ:
नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको समोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र जोड्न सक्यो।
समोआलाई सस्तैमा रोक्न नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । ब्याटिङतर्फ समोआका सिन सोलियाले सबैभन्दा बढी ४० रन जोड्दा अरू ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।