
काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोयाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा सामोयाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। नेपाल आजको खेलमा सामोयालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि उचाल्न चाहन्छ।
नेपालले आज सामोयालाई पराजित गरे छनोटमा अपराजित रहेर विश्वकप खेल्नेछ। विश्वकपको एसिया इस्ट प्यासिफिक छनोटबाट नेपालसहित ओमान र यूएईले स्थान पक्का गरिसकेका छन्।
कतार, जापान र सामोया छनोट चरणबाट बाहिरिसकेका छन्। छनोटमा सामोया चार खेलमा नै पराजित भएको छ। छनोटको ४ खेलबाट ८ अंक बनाएको नेपाल शीर्ष स्थानमा छ। ५ खेलबाट ८ अंक भएको ओमान दोस्रो स्थानमा उक्लेको छ।
समान खेलबाट ६ अंक भएको यूएई तेस्रो स्थानमा छ। आजै भएको सुपर सिक्सको खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै ओमान दोस्रो स्थानमा उक्लेको हो।