
नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन जारी; तिहार विदाका कारण कात्तिक २१ गतेसम्मको म्याद थप
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय थपिदिएको छ। राष्ट्र बैंकले आज (२०८२ असोज ३१ गते) एकीकृत निर्देशन जारी गर्दै त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने समय बढाएको हो ।
समय सीमा थप:-
इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकले अब आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण तथा मासिक विवरण २०८२ कात्तिक २१ गतेसम्म राष्ट्र बैंकमा पठाउन र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न पाउनेछन्।
यसअघि, त्रैमास सकिएको १५ दिनभित्र त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था थियो।
लामो तिहार विदा परेका कारण राष्ट्र बैंकले समयावधि थप गरेको हो।
ब्याज आम्दानी र नियमनकारी कोषसम्बन्धी निर्देशन:
राष्ट्र बैंकले ब्याज आम्दानीको लेखाङ्कन र नियमनकारी कोषमा रकम जम्मा गर्ने सम्बन्धमा थप निर्देशन दिएको छ:
आ.व. २०८२/८३ को पहिलो त्रैमासमा प्रोद्भावी आधार (Accrual Basis) मा लेखाङ्कन गरिएको ब्याज आम्दानी मध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकमलाई मात्र गणना गर्नुपर्नेछ।
कात्तिक १५ गतेभित्र प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकमबाट प्रचलित व्यवस्थाअनुसारको आयकर, कर्मचारी बोनस र बैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गर्नुपर्ने रकम कट्टा गरिनेछ।
बाँकी रकमलाई सञ्चित मुनाफा (Retained Earning) खर्च गरी नियमनकारी कोष (Regulatory Reserve) मा जम्मा गर्नुपर्नेछ।