
काठमाडौँ । बाँकेमा मेला हेर्न गएकी एक नाबालिकालाई ललाइफकाइ होटलमा पुर्याएर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका–२, मधुवाका २४ वर्षीय लक्ष्मण खत्री रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्मर पालका अनुसार पीडितको किटानी जाहेरीपछि खत्रीलाई मङ्गलबार दिउँसो पक्राउ गरिएको हो ।
डिएसपी पालका अनुसार मेला हेर्न गएकी १२ वर्षीया बालिकालाई ललाइफकाइ गरी खत्रीले होटलमा पुर्याएका थिए । पीडितको जाहेरीमा उल्लेख भए अनुसार, खत्रीले बालिकालाई एक होटलमा पुर्याई नौ दिनसम्म बलात्कार गरेका थिए ।
घरपरिवारले होटल पत्ता लगाएपछि बालिकाको उद्धार गरेको थियो। त्यसपछि पीडित बालिकाले प्रहरीमा आई किटानी जाहेरी दिएपछि प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका खत्रीमाथि थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले बुधबार उनलाई अदालतमा लैजान लागेको डिएसपी पालले बताए ।