
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपाल सरकारका विभिन्न खाताहरूमा दुई खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ मौज्दात रहेको छ । यो रकममा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, २०८२ असार मसान्तमा सरकारको कुल मौज्दात एक खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो। दुई महिनाको अवधिमा सरकारी सञ्चित मौज्दातमा उल्लेख्य वृद्धि देखिएको छ ।
सरकारी खर्चको स्थिति:-
महालेखा नियन्त्रक कार्यालय (नेपाल सरकार, अर्थ मन्त्रालय) को तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्ममा नेपाल सरकारको कुल खर्च एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा खर्चको वर्गीकरण निम्नअनुसार रहेको छ:
चालु खर्च: एक खर्ब १४ अर्ब १९ करोड रुपैयाँ
वित्तीय व्यवस्था खर्च: ५९ अर्ब ६३ करोड रुपैयाँ
पूँजीगत खर्च: ६ अर्ब ३५ करोड रुपैयाँ
राजस्व परिचालन
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) एक खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
राजस्व परिचालनको विवरण:
कर राजस्व: एक खर्ब ५० अर्ब ४० करोड रुपैयाँ
गैरकर राजस्व: सात अर्ब १३ करोड रुपैयाँ