
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल, काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
भण्डारीलाई अख्तियारले रु. २ लाख घुससहित गत भदौ १८ गते नियन्त्रणमा लिएको थियो। आयोगले मंगलबार विशेष अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार भण्डारीले दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।
घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिँदा उनको साथबाट रकम र एक थान मोबाइल पनि बरामद गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।